काठमाडौँ, २७ असार–फिफा विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा पुग्न दुई युरोपेली राष्ट्र इङल्याण्ड र नर्वेबीच प्रतिस्पर्धा हुँदै छ।
अमेरिकाको मियामी रंगशालामा आइतबार बिहान पौने ३ बजे हुने क्वार्टरफाइनल भिडन्तबाट नर्वे वा इङल्याण्डले अन्तिम चारमा स्थान बनाउनेछन्।
इङल्याण्ड एकपटकको विश्व विजेता टोली हो भने २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले पहिलोपल्ट क्वार्टरफाइनल खेल्न लागेको हो।
जारी विश्व फुटबलमा बढी चम्किएका खेलाडीमा यी दुबै टिमका एक–एकजना खेलाडी छन्। सर्वाधिक गोलकर्ताको भीडमा रहेका अर्जेन्टिनाका लियोनियल मेसी र फ्रान्सका किलियन एम्बाप्पेसँगै नर्वेका एर्लिङ हालान्ड र इङल्याण्डका ह्यारी केन पनि प्रतिस्पर्धीको रूपमा रहेका छन्। जसले गर्दा क्वार्टरफाइनल खेल हार–जितले सेमिफाइनलको ढोका उघारिने मात्र नभएर सर्वाधिक गोलकर्ताको भीडमा एकजना खेलाडी अघि बढ्ने र अर्को खेलाडी बाहिरिने निश्चित छ।
यो खेल हालाण्ड र ह्यारी केनको भिडन्तको रूपमा समेत हेरिएको छ। चर्चामा रहेका कारण प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।
यो खेलको विजेताले सम्भवतः साविक विजेता अर्जेन्टिनासँग सेमिफाइनलमा भेट हुने सम्भावना छ तर स्वीजरल्याण्डलाई पनि कमजोर ठान्न हुँदैन।
जारी विश्वकपमा इङल्याण्ड अपराजित टोली हो भने नर्वेले समूहचरणमा फ्रान्ससँग हार बेहोरेको थियो।
फिफा विश्व वरीयताको चौथो स्थानमा रहेको इङल्याण्डसामु फिफा वरीयतामा १९ औँ स्थानमा रहेको नर्वेलाई कमजोर आँक्न मिल्दैन।
चौथोपटक विश्वकपमा सहभागी भइरहेको नर्वेले नकआउट चरणमा आइभरी कोष्ट र ५ पटकको विश्व विजेता ब्राजिललाई हराएको छ।
अन्तिम ३२ मा आइभरी कोष्टलाई र अन्तिम १६ मा ब्राजिललाई समान २–१ गोल अन्तरले पाखा लगाएको हो। ८८ वटा देशलाई हराए पनि ब्राजिल नर्वेसामु भने फुटबलमा विजयी हुन सकेको छैन।
समूह आईमा रहेको नर्वेले समूहचरणमा इराकलाई ४–१ ले तथा सेनेगललाई ३–२ ले हराएको छ। समूहचरणमा फ्रान्ससँग ४–१ ले हारेको थियो।
अन्तिम १६ मा मेक्सिकोसँग ३–२ को कठिन जित बटुलको इङल्याण्डले अन्तिम ३२ मा डिआर कंगोलाई २–१ ले पाखा लगायो।
समूहचरणको पलिो खेलमा क्रोएसियालाई ४–२ ले, दोस्रो खेलमा पानामालाई २–० ले तथा समूहचरणको अन्तिम खेलमा घानासँग गोलरहित बराबरीमा रोकिएको यियो।
सन् १९६६ मा विश्वकप उपाधि जितेको इङल्याण्डले सन् १९९० र २०१८ मा गरी जम्मा २ पटक सेमिफाइनलमा स्थान बनाइसक्यो। १७ औँ पटक विश्वकप खेल्दै गरेको इङल्याण्ड चौथोपटक विश्वकप खेल्दै गरेको नर्वेलाई हराउँदै दोस्रोपटक उपाधि जित्ने अभियानमा निस्कने तयारीमा छ।
विश्वकपमा इङल्याण्ड र नर्वेबीचको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र स्वीजरल्याण्डबीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र स्वीजरल्याण्डबीच कान्सास सिटी रंगशालामा आइतबार बिहान पौने ७ बजे हुनेछ।
