काठमाडौं, २८ असार–मिडफिल्डर जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको मद्दतले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
मियामी स्टेडियममा भएको निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै थॉमस टुचेलको टोलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेलको सुरुवाती चरणमा दुवै टोली संयमित देखिए पनि ३६औँ मिनेटमा नर्वेले अग्रता लियो। एर्लिङ हालान्डको प्रहारलाई इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले विफल पारे पनि त्यसको लगत्तै एन्ड्रियास श्जेल्डेरुपले क्रस(शटमार्फत गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाए।
तर, पहिलो हाफको इन्जुरी समय (४५ं२ मिनेट) मा जुड बेलिङ्घमले उत्कृष्ट एकल प्रयासमा गोल गर्दै इङ्गल्याण्डलाई खेलमा फर्काए। त्यसको केही बेरमै ह्यारी केनले बललाई जाली चुमाए पनि भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो।
५९औँ मिनेटमा नर्वेका टोर्बजोर्न हेग्गेमले गोल गरे पनि हालान्डले इङ्गल्याण्डका इलियट एन्डरसनलाई फउल गरेको भन्दै ख्ब्च् ले उक्त गोललाई मान्यता दिएन। नर्वेका क्रिस्टोफर एजेरको हेड प्रहार क्रसबारमा ठोकिएपछि इङ्गल्याण्ड ठुलो संकटबाट जोगिएको थियो।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको ९३औँ मिनेटमा मोर्गन रोजर्सको शक्तिशाली प्रहारलाई नर्वेका गोलकिपर न्यल्यान्डले पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्।
सोही रिबाउन्ड बलमा छिटो प्रतिक्रिया जनाउँदै बेलिङ्घमले क्लोज-रेन्जबाट गोल गरी इङ्गल्याण्डको जित सुनिश्चित गरे। योसँगै नर्वेको ऐतिहासिक विश्वकप यात्रा क्वाटरफाइनलमै टुङ्गिएको छ।
जुड बेलिङ्घम र ह्यारी केन दुवैले यस विश्वकपमा ६–६ गोल गरिसकेका छन्। विश्वकपको एउटै संस्करणमा ५ वा सोभन्दा बढी गोल गर्ने दुई इङ्गल्याण्डका खेलाडी बनेर उनीहरूले इतिहास रचेका छन्।
गोलकिपर जोर्डन पिकफोर्डले विश्वकपमा आफ्नो १८औँ खेल खेल्दै पिटर शिल्टनको कीर्तिमान तोडेर इङ्गल्याण्डका लागि विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने गोलकिपर बनेका छन्। खेलको उत्कृष्ट खेलाडीस् दुई गोल गरेका जुड बेलिङ्घम ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
इङ्गल्याण्डले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना वा स्विट्जरल्याण्डमध्ये एकको सामना गर्नेछ।
