काठमाडौं, २ असार–फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता चुन्नका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे) न्यूयोर्क न्यू जर्सी स्टेडियममा महाभिडन्त हुँदैछ।
शैली र रणनीतिका हिसाबले भिन्न मानिएका यी दुई फुटबल महाशक्तिबीचको फाइनललाई यस दशककै प्रतीक्षित खेलका रूपमा हेरिएको छ।
यो फाइनल अर्जेन्टिनी कप्तान लियोनेल मेसीका लागि विशेष भावनात्मक मोड पनि हो, किनकि उनले आफ्नो उर्जावान् र स्वर्णिम फुटबल करियरको झन्डै दुई दशक स्पेनमै बिताएर विश्व फुटबलमा साम्राज्य खडा गरेका थिए।
स्पेनको अपराजित लय र फाइनल यात्रा
युरोपेली च्याम्पियन स्पेन सेमिफाइनलमा बलियो दाबेदार फ्रान्सलाई पूर्ण रूपमा निरिह बनाउँदै फाइनलमा प्रवेश गरेको हो।
बलमाथि बलियो नियन्त्रण राख्ने रणनीति (पोजेसन फुटबल) बुनेको लुइस डे ला फुएन्टेको टोलीले फ्रान्सेली आक्रमणलाई टाउको उठाउनै दिएन।
समूह ुएचु को पहिलो खेलमा केप भर्डसँग अप्रत्याशित गोलरहित बराबरीमा रोकिए पनि स्पेनले साउदी अरबलाई ४–० र उरुग्वेलाई १–० ले पाखा लगाउँदै नकआउट चरणको यात्रा तय गरेको थियो। राउन्ड अफ ३२ मा अस्ट्रियामाथि ३–० को सहज जित निकालेको स्पेनका लागि त्यसपछिका दुई खेल भने निकै कठिन रहे।
पोर्चुगल र बेल्जियमविरुद्धको खेलमा मिडफिल्डर मिकेल मेरिनोले अन्तिम समयमा बचाउ खेल खेल्दै निर्णायक गोल गरे र टोलीलाई अघि बढाए।
सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेन १६ वर्षपछि पुनः उपाधि नजिक पुगेको हो। प्रतियोगिताभर स्पेनले विपक्षीलाई मात्र एक गोल सुम्पिएको छ, जसले उसको रक्षापंक्ति कति मजबुत छ भन्ने देखाउँछ।
नाटकीय पुनरागमन गर्दै अर्जेन्टिना फाइनलमा
अर्कोतर्फ, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फाइनलसम्म आइपुग्न निकै उतारचढाव र रोमाञ्चक बाटो तय गरेको छ। कप्तान मेसी फेरि चामत्कारिक लयमा देखिएका छन्।
उनले यसै प्रतियोगितामा मात्रै ८ गोल गरिसकेका छन् भने उनको समग्र विश्वकप गोल संख्या २१ पुगेको छ। समूह चरणमा अल्जेरिया (३–०), अस्ट्रिया (२–०) र जोर्डन (३–१) लाई पन्छाउँदै शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिनाका लागि नकआउट चरण भने अग्निपरीक्षा जस्तै बन्यो।
राउन्ड अफ ३२ मा केप भर्डको चुनौती पन्छाउन अर्जेन्टिनालाई अतिरिक्त समय कुर्नुपर्योभ। राउन्ड अफ १६ मा इजिप्टविरुद्ध ७९औँ मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले ३–२ को ऐतिहासिक पुनरागमन जित निकाल्यो।
क्वाटरफाइनलमा १० खेलाडीमा खम्चिएको स्विट्जरल्यान्डविरुद्ध पनि टोलीले अतिरिक्त समयमै संघर्ष गरेर जित निकाल्यो भने सेमिफाइनलमा इङ्ल्यान्डको सुरुवाती अग्रतालाई एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोल मद्दतमा २–१ ले तोड्दै फाइनल टिकट काट्यो। कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिना लगातार दोस्रो पटक र समग्रमा सातौँ पटक फाइनल पुगेको हो।
६० वर्षपछिको दुर्लभ भेट
विश्वकपको मञ्चमा यी दुई टोली ६० वर्षपछि पहिलो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् १९६६ को विश्वकपमा यी दुईबीच एकमात्र खेल भएको थियो, जसमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो।
कुल १३ मैत्रीपूर्ण खेलहरूमा भने स्पेनले ६ र अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएको छ। दुई टोलीबीचको पछिल्लो भेट सन् २०१७ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ को भारी गोल अन्तरले पराजित गरेको थियो।
यसै वर्ष फेब्रुअरीका लागि तय भएको ुफिनालिसिमाु खेल भने विविध कारणले रद्द भएको थियो। लगातार दोस्रो पटक विश्वविजेता बन्दै मेसीलाई सुखद बिदाइ दिने अर्जेन्टिनाको दाउ छ भने युरोपेली कपको लयलाई विश्वकप ट्रफीमा बदल्दै दोस्रो पटक सुनौलो इतिहास रच्ने दाउमा स्पेन छ।
