काठमाडौँ, ४ साउन–कोशी नदीमा पानीको बहाव उच्च गतिमा बढ्दै गएपछि कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने तयारी गरिएको छ। उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण नदीको जलसतहले सतर्कता तह पार गर्ने जोखिम बढेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझसम्म कोशी नदीको जलसतह ४.७८ मिटर पुगेको छ। विभागकी बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा वर्षा जारी रहेकाले सोमबार बिहानसम्म जलसतहले ६ मिटरको सतर्कता तह पार गर्न सक्ने बताए।

नदीको जलसतह ७ मिटर पुगेको खण्डमा ‘खतरा तह’ पार हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५२ वटै ढोका खोल्ने विषयमा सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए ।

प्राधिकरणले बाढीको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र प्रतिकार्यका लागि सबै संयन्त्रहरूलाई तयारी अवस्थामा राखिएको जनाएको छ।मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु र सम्बन्धित स्थानीय तहहरूलाई बाढी, पहिरो तथा डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *