काठमाडौँ, ५ साउन–सरकारले सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो।
उक्त कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहनेछन्। कार्यदलले १५ दिनभित्र आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ।
त्यसैगरी, बैठकले चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान गरिएका विधेयकहरूको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयहरूले शीघ्र प्रारम्भ गर्ने निर्णय गरेको छ।
साथै, धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्याउने खालका कानुनहरू खारेज गर्न सम्बन्धित मन्त्रालयहरूले प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरिएको छ।

