काठमाडौं, ६ साउन–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक नाजुक अवस्थामा रहेको भन्दै एकजुट हुनुपर्ने बताएका छन्।
उनले पहिले नेपाली कांग्रेसभित्र एकता हुनुपर्ने र त्यसपछि परम्परागतसहित सबै शक्तिहरूका बीचमा एकता र मेलमिलाप हुनुपर्ने पनि कोइरालाले बताए।
बिपी कोइरालाको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘बिपी ०३३ सालमा स्वदेश फर्कनुभएको थियो। त्योभन्दा भयावह स्थिति नेपालको छ। हामी रहन्छौं, माटो यही रहन्छ तर अवस्था नाजुक अवस्थाबाट मुलुक गइरहेको छ। अब पनि हामी एकढिक्का भएर अघि बढ्न सकेनौं भने नेपाली कांग्रेसको के अवस्था हुन्छ त्यो हुन्छ नै तर अब हामीहरूको धेरै चिन्ता देशको छ।’
देशको अवस्था अप्ठ्यारो र नाजुक रहेको उनले बताएका थिए।
‘त्यसबाट मुक्ति दिलाउन पनि राष्ट्रिय एकता र मेलमिलापलाई मनन गरेर हामीहरू अघि बढ्न सक्यौं भने पक्कै पनि हामी हाम्रो मन्जिलमा पुग्न सक्छौं भन्ने विश्वास लिएको छु,’ उनले भने।

