केपी शर्मा ओली

काठमाडौं, ८ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि पञ्चायतकालभन्दा पनि बढी दमनकारी शासन सञ्चालन गरेको आरोप लगाएका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्था पञ्चायतकालभन्दा पनि बर्बर रहेको दाबी गरे।

ओलीले आफूलाई पक्राउ गरिएको घटनाको प्रसंग उल्लेख गर्दै त्यसबेला विरोधमा उत्रिएका एमालेका नेता–कार्यकर्तामाथि राज्यले बल प्रयोग गरेको आरोप लगाए। उनले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाउँदै राजनीतिक निर्देशनका आधारमा दमन भइरहेको टिप्पणी गरे।

‘पञ्चायतकालमा पनि यस्तो बर्बरता थिएन। कुन दमन, कुन बर्बरता ? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई ? प्रहरी फेरि के भएको हो ?,’ ओलीले भने, ‘अस्ति यही समूहले प्रहरीलाई लखेटी–लखेटी दुःख दिएको थियो, अहिले केही प्रहरी तिनैको आदेशमा दमन गर्न लागिपरेका छन्।’

सरकार आफैँ नसच्चिए जनताले दमनविरुद्ध आवाज उठाउनुपर्ने अवस्था आउने चेतावनी पनि उनले दिए। त्यसक्रममा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक आन्दोलन भएको दाबी गरे। आन्दोलनका क्रममा हत्या, आगजनी र व्यापक हिंसा भएको उल्लेख गर्दै उनले त्यस्ता घटना नेपालको इतिहासमै कल्पना गर्न नसकिने खालका रहेको बताए।

‘विभिन्न देशमा चुनाव हुन्छ तर लोकतन्त्र हुँदैन। यहाँ हाम्रो देशमा पनि के भयो भनेर बोल्नलाई जिब्रो चपाइरहनुपर्दैन। भदौ २३र२४ गते जुन खालको मार्ने–मराउने, आगजनी गराउने, नेपालको इतिहासमा कल्पना गर्नै नसक्ने घटना घटाइयो,’ ओलीले भने, ‘माओवादीले सत्ताकब्जा गर्न हिंसात्मक बाटो रोज्यो, तर समाजलाई भयमा राख्ने क्रियाकलाप गरेन।’

उनले तत्कालीन माओवादीले भन्दा बढी हिंसात्मक शैली अपनाएर सत्ता कब्जा गरिएको आरोप लगाए। जेनजी आन्दोलनपछि वैधानिक सरकारलाई असंवैधानिक र अवैध तरिकाले हटाइएको दाबी गर्दै ओलीले भने, ‘वैधानिक सरकारलाई अवैध आतंकपूर्ण आपराधिक गतिविधिबाट हटाइयो। संविधानले नहुने भनेको काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा गरियो। अवैध सिफारिसका आधारमा जननिर्वाचित संसद् असंवैधानिक रूपमा भंग गरियो।’

लोकतन्त्र अहिले गम्भीर संकटमा रहेको दाबी गर्दै ओलीले भने, ‘लोकतन्त्र कहाँ छ अहिले ? लोकतन्त्र अपहरण भएको छ। अब लोकतन्त्रको पुनःस्थापना आवश्यक छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *