जिल्ला प्रशासन कार्यलय सुनसरी

इनरुवा (सुनसरी), ११ साउन–सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको दक्षिणी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु अवधिभर हिँडडुल, भेला, जुलुस, सभा तथा प्रदर्शनमा पूर्ण रोक लगाइएको छ।

आइतबार राति दुई समूहबीच भएको विवाद हिंसात्मक बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो। प्रहरीको गोली लागेर देवानगञ्ज–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा ८ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सोमबार बिहानसम्म कप्तानगञ्जको अवस्था सामान्य रहे पनि थप अप्रिय घटना हुन नदिन प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाएको छ। साथै, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभर निषेधाज्ञा पनि जारी गरिएको छ।

प्रहरीका अनुसार आइतबार राति युवाहरूको एक समूह साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। त्यसक्रममा अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि विवाद सुरु भएको थियो। विवाद झडपमा परिणत भई हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास, हवाई फायर र अन्ततः गोली चलाएको जनाएको छ।

घटनापछि राति करिब १२ बजे जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। सोही बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी घिमिरेले राति साढे १२ बजे कर्फ्यु आदेश जारी गरेका थिए, जुन सोमबार बिहान ७ बजेदेखि लागू भएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *