काठमाडौं, ११ साउन–नेकपा (एमाले) ले संगठित सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउन पटक(पटक समयसीमा थपे पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको केन्द्रीय कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार असार मसान्तसम्म एमालेका ६० प्रतिशत भन्दा बढी सदस्यले सदस्यता नवीकरण गरेका छैनन् ।

पार्टी केन्द्रीय कार्यालयको आन्तरिक स्रोतका अनुसार, पटक–पटक म्याद थप गरिए पनि तोकिएको अन्तिम समयसीमासम्ममा ६० प्रतिशतभन्दा बढी संगठित सदस्यले सदस्यता नवीकरण गरेका छैनन्।

०७८ सालमा एमालेको संगठित सदस्यको संख्या ११ लाख पुगेको थियो । जेनजी आन्दोलनको अघिल्लो दिन गत भदौ २२ मा सम्पन्न विधान महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेलले संगठित सदस्य संख्या १२ लाख ६९ हजार १६१ जना रहेको बताएका थिए ।

०८२ पुसमा भएको ११ औं महाधिवेशनमा ६ लाख ६२ हजारले मात्र नवीकरण गरेका थिए । तर ६ लाख ६२ हजार मध्ये पनि विभिन्न प्रदेशका जिल्लाहरुमा मतदाता भन्दा बढी पार्टी सदस्य देखिएको थियो । जस्तै, महोत्तरी–४, जहाँ १४ हजार ६३७ जना संगठित सदस्य रहेको एमाले संगठन विभागको अभिलेख छ । त्यसक्षेत्रबाट एमालेले पाएको समानुपातिक मत भने जम्मा ४ हजार ९९५ छ ।

समग्र मधेश प्रदेशमा भने संगठित सदस्य भन्दा प्राप्त मत थोरै बढी छ । मधेशमा एमालेका १ लाख ५६ हजार १९५ सदस्य छन् । यो प्रदेशबाट उसले पाएको मत १ लाख ८७ हजार ९०१ छ ।

एमालेले १० लाख संगठित सदस्य संख्या पुर्‍याउने लक्ष्य लिएको थियो । सदस्यता नवीकरणलाई तीव्रता दिन एमालेले जिल्ला प्रमुख, विभागीय प्रमुख र सचिवहरूलाई राखेर २ दिने कार्यशाला राखेर प्रशिक्षण पनि दिएको थियो । कार्यशालाले संकल्प प्रस्ताव पारित गर्दै १ सदस्य बराबर ३ नयाँ सदस्य बनाउने संकल्प गरेको थियो ।

मंसिर २७ देखि सुरु भएर पुस सम्पन्न महाधिवेशनले प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्कअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १०३, जिल्ला कमिटी, महानगर, उपमहमानगर, नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ रहेको उल्लेख थियो । त्यसै गरी वडा कमिटी ७ हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ प्रतिवेदनमा भनिएको छ ।

कार्यशालाले संकल्प प्रस्ताव पारित गर्दै १ सदस्य बराबर ३ नयाँ सदस्य बनाउने संकल्प गरेपनि पुरानो ६० प्रशितसले नविकरण नगरेको केन्द्रीय कार्यालयका तथ्याङ्ग छ । २०७९ को आम निर्वाचनमा समानुपातिक प्रणालीतर्फ २८ लाख ४५ हजार ६४१ मत ल्याएर पहिलो बनेको एमालेले यसपटक फागुन २१ गते भएको मतदानमा सूर्य चिह्नमा जम्मा १४ लाख ५३ हजार १४० मत मात्रै प्राप्त गर्नुले झन्डै आधा मत गुमेको प्रस्ट पार्छ।

पछिल्लो समय जेन–जी आन्दोलनपश्चात युवापुस्तामा अध्यक्ष ओलीको राजनीतिक कदम र कार्यशैलीका कारण पार्टीप्रति आकर्षण घट्दै गएको र त्यसैको प्रत्यक्ष प्रभाव सदस्यता नवीकरणमा परेको नेताहरूको भनाई छ । एक पदाधिकारीले भने, ‘अध्यक्षबाट ओली हटेपछि मात्रै सदस्यता नविकरण गर्छु भन्नेहरु धेरै देख्छु ।’

सदस्यता नविकरण अभियानमा तल्लो तहका कार्यकर्ताको उदासीनता मुख्य समस्याका रूपमा देखिएको छ। केन्द्रीय तथा प्रदेश तहका केही नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो सदस्यता नवीकरण भएको सूचना सार्वजनिक गरे पनि भुइँतहका कार्यकर्ताहरूमा भने यस अभियानप्रतिको उत्साह नगण्य रहेको जिल्लाका नेताहरुको भनाई छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *