झापा गाउँपालिकाको प्रशासकीय कार्यालय

सुरुङ्गा (कनकाई), १९ साउन–झापा गाउँपालिकाले आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत तथा नापीसम्बन्धी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

सेवा सुरु भएपछि अब स्थानीय नागरिकले मालपोत तथा नापीसम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले सेवा शुभारम्भ गर्दै यसले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने बताइन्।

गाउँपालिकाका अनुसार पहिलो चरणमा विद्युतीय फोटो, औंठाछाप, दस्तखत तथा ‘ल्याण्ड ओनर आइडेन्टिफिकेसन नम्बर’ भएका जग्गाको खरिद–बिक्री, राजीनामा, हकछोड तथा लिखत पारितसम्बन्धी सेवा प्रदान गरिनेछ।

यससँगै अंशवण्डा, नामसारी, मोही बाँडफाँड, कित्ताकाट, नक्सा प्रिन्ट, अभिलेख अद्यावधिक तथा राजस्व संकलनलगायतका सेवासमेत गाउँपालिकाबाटै उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले जानकारी दिए।

उनका अनुसार स्थानीय तहबाटै सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको समय, खर्च र झन्झटमा उल्लेख्य कमी आउनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *