काठमाडौँ, २४ साउन–जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ ।
आज आइतबार बिहान ८ बजेसम्म गण्डकी प्रदेशका केही स्थान तथा कोसी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपात र पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

