दमक, ३१ भदौं–झापाको दमकमा कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप आयोजना हुने भएको छ।

दमक भेट्रान फुटबल क्लबको आयोजनामा असोज १५ गतेदेखि ६ दिनसम्म प्रतियोगिता सञ्चालन हुने आज दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

प्रतियोगिताका खेलहरू दमक–२ बेलडाँगी खेलमैदानमा सञ्चालन हुने छ।

प्रतियोगितामा झापा, मोरङ, इलाम, पाँचथरलगायत जिल्लाका १२ वटा भेट्रान टोली सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ।

प्रतियोगिता आयोजक दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानका अनुसार विजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तैं, उपविजेताले ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिने दमक भेट्रान क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिनुभयो।

भेट्रान खेलाडीलाई खेलकुदमा निरन्तर सक्रिय राख्नुका साथै नयाँ पुस्तालाई समेत फुटबलतर्फ आकर्षित गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। नयाँ पुस्ताले भेट्रान खेलाडीहरूसँगै खेल हेर्ने तथा खेल्ने अवसर प्राप्त गर्ने अध्यक्ष देवानले बताउनुभयो।
पुरानो पुस्ताको खेल अनुभव र नयाँ पुस्ताको उत्साहलाई एकै ठाउँमा जोड्दै प्रतियोगिताले स्थानीयस्तरमा फुटबलको विकास तथा खेलाडी उत्पादनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब ८ लाख रुपैयाँ अनुमानित बजेट खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू दमक नगरपालिका–२ स्थित बेलडाँगी खेलमैदानमा सञ्चालन हुने बताइएको छ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका शिल्डसमेत सार्वजनिक गरिएको थियो । प्रतियोगितालाई थप व्यवस्थित गर्न विभिन्न विभागहरु गठन गर्नुका साथै जिम्मेवारीहरु समेत छुट्याइएको दमक भेट्रान फुटबल क्लबका सचिव बीरेन राईले जानकारी दिनुभयो ।

सो पत्रकार सम्मेलनमा दमक भेट्रान फुटबल क्लबका प्रशिक्षक एबम् पूर्व राष्ट्रिय फुटबल खेलाडी कुमार गिरी लगायत क्लबका पदाधिकारीहरु, सदस्यहरु र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *