बेलडाँगी (दमक), १५ असोज–झापाको दमकमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ अन्तर्गत दोस्रो खेलमा ढल्केजोवन भेट्रान उर्लाबारीले धरान बुढासुब्बा भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
दमक–२ बेलडाँगी खेलमैदानमा भएको खेलमा ढल्केजोवन भेट्रान उर्लाबारीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। उर्लाबारीका जर्सी नम्बर २० का रोजिन शिवाकोटीले खेलको १९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि जर्सी नम्बर १० का विनोद लामाले गोल गर्दै अग्रता २–० मा पुर्याए।
दोस्रो हाफमा पनि उर्लाबारीले आफ्नो दबदबा कायम राख्यो। रोजिन शिवाकोटीले खेलको ४८औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै उर्लाबारीलाई ३–० को जित दिलाए।
खेलका क्रममा दुवै टोलीका जर्सी नम्बर ६ का कमल खवास र जर्सी नम्बर ७ का सूर्यबहादुर राईले पहेँलो कार्ड पाए।
जितसँगै ढल्केजोवन भेट्रान उर्लाबारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अब उर्लाबारीले आगामी १७ गते दमक रातो भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ।
दमक भेट्रान फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विजेतालाई प्रदान गरिने १ लाख रुपैयाँ दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ।
दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ। उद्घाटन सत्रमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेलमा मिक्लाजुङ भेट्रान र चन्द्रगढी भेट्रानबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मिल्स भेट्रान र काकरभिट्टा भेट्रान आमनेसामने हुनेछन्।
