झिलझिले, ५ जेठ–शिबसताक्षी नगरपालिकाभित्रका खेलकुद जगत र खेलाडीहरुको खेल प्रतिभाका विकासका लागि आयोजना गरिएको शिबसताक्षी नगर मेयर कप अन्तर्गत कराते खेलतर्फ प्रतिस्पर्धा सम्पन्न भएको छ । कराते खेलतर्फको प्रतिस्पर्धामा वडा नं १० ले ८ वटा गोल्ड मेडल, ३ वटा सिल्भर र १० ब्रोन्जसहित उपाधि कब्जा गरेको छ । त्यस्तैं, वडा नं ८ ले ६ गोल्ड, १० वटा सिल्भर र ७ वटा ब्रोन्जसहित करातेतर्फ मेयर कपको दोस्रो उपाधि कब्जा गरेको छ ।
आयोजक शिबसताक्षी नगर खेलकुद विकास समितिका सदस्य समेत रहनुभएका शिबसताक्षीका कराते खेलका सिनियर प्रशिक्षक दुर्गा उप्रेतीका अनुसार नगरपालिकाको ११ वटै वडाबाट प्रतियोगितामा खेलाडीहरुले सहभागिता जनाएका थिए ।
झिलझिलेस्थित कवर्ड हलमा आयोजना गरिएको कराते प्रतिस्प्र्धामा तेस्रो स्थान शिबसताक्षी ६ ले जित्न सफल भएको छ । उसले ३ वटा गोल्ड मेडलसहित ८ वटा ब्रोन्ज हात पार्न सफल भएको छ । त्यस्तैं, सो प्रतियोगितामा महिलातफ वेस्ट फाइटर शिबताक्षी ८ की कृपा चापागाई घोषित भएकी छन् भने पुरुषतर्फ वेस्ट फाइटर शिबसताक्षी ११ का प्रज्वल दाहाल घोषित भए ।
यता, प्रतियोगिताकै महिलातर्फ राइजिङ प्लेयर शिबसताक्षी ८ की सृजना तामाङ घोषित भएकी छन् भने पुरुषतर्फ शिबसताक्षी–१० का मनोज तामाङ घोषित भए ।
खेल सञ्चालन अघि, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङगालुङ राईको अध्यक्षतामा र नगर प्रमुख रोशन थोप्रोको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा ८ नम्बर अ्रध्यक्ष सन्त फेउवादिन, ३ वडाका अध्यक्ष भाष्कर न्यौपाने, ६ नम्बर अध्यक्ष मनोज खुलाल कार्की, ११ नम्बर वडाका अध्यक्ष बाहादुर आङबो लगायतको उपस्थिति रहेको कराते खेल संयोजक तथा सिनियर प्रशिक्षक दुर्गा उप्रेतीले जानकारी दिए ।
