झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा बसोबास गरिरहेका भुटानी शरणार्थी शिविरका जेष्ठ नागरिक, शारिरिक रुपमा अशक्त र असहायहरुलाई सामाजिक सुरक्षा वापत भत्ता बितरण गरिएको छ । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले शिविरमा बसोबास गरिरहेका जेष्ठनागरिक, अशक्त र असहायहरुलाई दैनिक जीवनमा सहयोग पुर्याउन भत्ता वितरण गरिएको हो ।
इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा एक कार्यक्रमबीच भक्ता वापतको रकम बितरण गर्नुभएको थियो ।
दमकस्थित बेलडाँगी शिविरका २ सय ५१ र पथरीशनिश्चरे शिविरका ५६ जनासहित ३ सय ७ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि रकम वितरण गरिएको हो ।
शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका नागरिकहरुलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो कार्यक्रम विगत २०१९ देखि निरन्तर चलिरहेको आयोजक संस्थाका अध्यक्ष अधिकारीले बताउनुभयो ।
दमक बेलडाँगी र पथरीशनिश्चरे शरणार्थी शिविरमा अझै पनि आठ हजार नेपाली भाषी भुटानीहरु शरणार्थीको रुपमा बसोबास गरिरहेका छन् ।
यसअघि, शिविरमा बसोबास गरिरहेका अशक्त तथा असहायहरूका लागि फाउण्डेसनले ‘डे केयर’को पनि व्यवस्था गरेको छ । त्यस्तैं, इन्ट्रा फाउन्डेसनले भुटानी शरणार्थी प्रभावित दमक र पथरीशनिश्चरे नगरपालिकालाई एक–एक वटा एम्बुलेन्स प्रदान गरेको छ ।
