कनकाई, ११ मंसिर । झापामा फेरि गौहत्या भएको छ । कनकाई नगरपालिका–३ टप्पुबस्ती पूर्वमा आज (मंगलबार) गौ हत्या भएको हो ।
लीला संग्रौलाको इँटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बसेका व्यक्तिले आफू बसेको घरमा लगेर गाई काटेका हुन् । स्थानीय पूर्णप्रसाद फुँयालको गोठमा बाँधिएको लीलाप्रसाद सिलवालको लैनो गाई राति चोरेर लगेको बताइएको छ ।
राति नै सो गाई काटेको अनुमान गरिएको छ । गाई बिहान दुहुना जाँदा हराएपछि खोजी गर्दा लीला संग्रौलाको घरभित्र काटिएको अवस्थामा फेला परेको हो । ती मुस्लिम फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो ।
घटना पश्चात् गाई काट्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै श्री सताक्षी गोवर्द्धन गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजको नेतृत्वमा विरोध प्रदर्शन गरेका छन् ।
कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो । ‘गाई हामी सबैको आमा समान हुन्, हामी गाईलाई पुजा गर्छौं, आमा मान्छौ’, उहाँले भन्नुभयो, ‘घटनामा संलग्नलाई कानुन अनुसारको हदैसम्मको कारर्बाही लागि जोडदार माग गर्दछु ।’ दुई महिनाअघि झापाको दमकमा पनि गाई काटिएको घटनामा चार जना पक्राउ परेका थिए ।
