दमक, १९ पुस–कोशी प्रदेशकै ठूलो सौर्य उर्जा कम्पनी झापा इनर्जीले गत मंसीर मसान्तसम्म १ करोड २७ लाख ४ हजार ३११ युनिट विद्युत उत्पादन गरेको छ ।

सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारासहित स्थापना गरिएको सौर्य उर्जा कम्पनी १० मेगावाट क्षमताको हो । उक्त परियोजनामा बैंकबाट ७५ र लगानीकर्ताहरुबाट २५ प्रतिशत लगानी गरिएको छ ।

गत वर्षको माघ १० गतेदेखि झापा इनर्जीले ९ करोड २७ लाख ४१ हजार ४७० रुपैयाँको सौर्य उर्जा बिक्री गरेको हो ।

आज बिर्तामोडमा सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार २०७५ मा स्थापित झापा इनर्जीले आइपीओ जारी गर्ने तयारी गरेको उल्लेख छ ।

सौर्य उर्जा परियोजना सञ्चालनका लागि शिवसताक्षी ४ स्थित बोलोचोकमा २१ बिघा ११ कठ्ठा साढे ९ धुर जग्गामा खरिद गरिएको थियो । कम्पनीले आइपीओ जारी गर्ने गरी गत जेठ महिनामा नै सबै प्रक्रिया पूरा गरिसकेको साधारणसभाका अवसरमा जनाएको हो ।

कम्पनीले उर्जा उत्पादन लगत्तै मुनाफा गर्न सफल भएको अध्यक्ष एलपी साँवाले जानकारी दिए । अध्यक्ष तथा संघीय सांसद साँवाले समृद्ध राष्ट्र निर्माणमा टेवा पुराउन सौर्य उर्जा उत्पादन गरिएको जानकारी दिए । उनले उर्जा र पर्यटन क्षेत्रका गरिने लगानीले मात्रै राष्ट्रलाई समृद्ध बनाउन सक्ने बताए । अध्यक्ष साँवाले सर्वसाधारणलाई भनेका छन्, आम्दानीको ३ महिनाको लगानी उर्जामा लगानी गर्नुहास्, इन्भेष्ट गर्नुहोस् । बाँकी रहेको रकमले परिवार चलाउनुहोस् ।

साँवाले कम्पनीको अधिकत पुँजी ४० लाख कित्ता बराबर प्रति शेयर १०० रुपैयाँका दरले ४० करोड रहेको जानकारी दिए ।

कम्पनीको जारी पुँजी ३८ करोड १ लाख ९ हजार रहेको अध्यक्ष साँवाले बताएका छन् । जारी गरिएको पुँजीमध्ये कम्पनीका संस्थापक शेयर धनीहरुले ७५ प्रतिशतले हुन आउने २८ करोड ५१ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको शेयर कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र सर्वसधारणहरुका लागि जारी गरिएको अध्यक्ष साँवाले जानकारी दिएका छन् ।

कम्पनीले परियोजनाका निर्माणका लागि शिवसताक्षीमा १० बिघा १७ कठ्ठा र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इण्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिघा १३ कठ्ठा ११ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा साढे ९ धुर जग्गा खरिद गरी निर्माण कार्यको थालनी गरेको थियो ।

उक्त आयोजनाबाट उत्पादन भएको बिद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत दमक वितरण केन्द्र अन्तरगत बुलुचोक सब–स्टेशनस्थित राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । उक्त आयोजनाको प्रशारण लाइन ९६६ मिटर मात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा कम्पनीका सञ्चालक रामचन्द्र उप्रेतीले शाब्दिक स्वागत गरेका थिए भने कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष, कम्पनीका पूर्व सञ्चालक तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले मन्तब्य राखेका थिए ।

कम्पनीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कम्पनीका सचिव तथा महाप्रवन्धक सरोज श्रेष्ठले कम्पनीको कम्पनीको बारेमा जानकारी दिदै आयव्यय प्रस्तुत गरेका थिए । साधारणसभामा ५ वटा सामान्य प्रस्ताव र ३ वटा विशेष प्रस्ताव पारित गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *