सुरुङ्गा (कनकाई), २० पुस–कनकाई–१ जामुनबारीस्थित तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २८ औं तुर्षा हेमरम स्मृति दिवस विविध कार्यक्रमका साथ मनाएको छ । प्रतिष्ठानले आज (शनिबार) प्रतिष्ठान परिसरमा विविध सांस्कृतिक तथा खेलकूद कार्यक्रम गरेर दिवस मनाएको हो ।
प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको सभापत्विमा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता लीला उदासीको प्रमुख आतिथ्य रहेको थियो । स्मृति दिवसका अवसरमा छेलो, लमजम र तीरधनुषका साथै सांस्कृतिक कार्यक्रम गरिएको प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले जानकारी दिनुभयो ।
खेलकूद र सांस्कृतिक कार्यक्रममा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई प्रमाणपत्रका साथमा नगद पुरस्कारसमेत प्रदान गरिएको खेलकूद समितिका प्राविधिक संयोजक दुर्गाराज निरौलालले बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमले स्वागत गरेको कार्यक्रममा बरिष्ठ अधिवक्ता उदासी र सञ्चारकर्मी रश्मीशेखर सुवेदी प्रमुखवक्ता रहनुभएको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, जग्गादाता उमाप्रसाद सिटौला, तुर्षा हेमरमका छोरा लुखीराम हेमरम, छोरी मुखिया हेमरम, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, कांग्रेस कनकाई सभापति दुर्गा प्रसाईं, बिर्तामोड सभापति भोजराज सिटौला, रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी, कनकाई–७ का अध्यक्ष भीष्मभुषण सिटौला, रोटरी क्लब कनकाईका निवर्तमान अध्यक्ष शिवकुमार कडेल, नेपाल–भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुनकुमार बोहोरा, कांग्रेस वडा न १ र ७ का सभापति मनोज बस्नेत, ईश्वरी शिवाकोटी लगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले गर्नुभएको थियो ।
