एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनता सन्तुष्ट नभएको दाबी गरेका छन्।

आज (मंगलवार) पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगति आएको बताए। उनले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाए पनि जनतालाई सन्तुष्टि दिन नसकेको उल्लेख गरे।

उनले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए। उनले नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरे पनि राम्रो काम गर्न नसकेको आरोप लगाए।

उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरूले नै कम्युनिष्ट पार्टीलाई सिध्याएको इतिहास रहेको बताए। अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे। उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे। उनले कम्युनिष्ट नेताले एकपटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताए। उनले कम्युनिष्ट पार्टीका नेताले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनका लागि लगाउन आवश्यक रहेको बताए।

नेता नेपालले भने, ‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरू पनि छन्। अहिलेको राजनीतिमा धेरै विकृति विसंगति आएका छन्। मुलुक कम्युनिष्ट पार्टीका मान्छेले चलाएका छन् तर जनता सन्तुष्ट छैनन्। कम्युनिष्ट भएर मात्रै पनि हुँदैन। त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्नुपर्छ।’

उनले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनका लागि काम गर्ने भावना सम्प्रेषण गरी युवाहरूलाई असल बाटोमा लैजानसके मात्रै पिस्करका शहीदको सपना पूरा हुने उल्लेख गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *