काठमाडौं, २५ माघ–पाँच वटा सहकारीको रकम अपचलन मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको धरौटी मात्रै दुई करोड ७९ लाख पुगेको छ ।
कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रिम र चितवनको साहारा गरी चारवटा सहकारीको रकम अपचलनसम्बन्धी सम्बन्धित जिल्लाका अदालतहरूले तोकेको धरौटी दुई करोड ७९ लाख पुगेको हो । लामिछानेलाई कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख, रुपन्देहीमा एक करोड र चितवनमा ५४ लाख धरौटी मागिएको छ ।
जिल्ला अदालत, चितवनले लामिछानेलाई बिहीबार ९आज० मात्रै ५४ लाख धरौटीमा छाडेको छ । अझै पर्साको सानो पाइला सहकारीको प्रक्रिया बाँकी नै छ । लामिछानेले उपप्रधान एवम् गृहमन्त्री हुँदा एक लाख १० हजार र भक्तपुरमा एक रोपनी एक आना जग्गा सम्पत्ति देखाएका थिए ।
रास्वपा सभापति लामिछानेलाई जिल्ला अदालत चितवनले ५४ लाख धरौटी मागेको हो । उनी सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर छुटेका छन् । चितवनमा पनि प्रभू बैंकले रविका लागि जमानत दिएको हो । यसअघि तीन वटै अदालतमा सोही बैंकले जमानत उपलब्ध गराएको थियो । यता रवि छुट्दै गर्दा उनका समर्थकहरुले प्रदर्शन र नारावाजी गरिरहेका छन् ।
चितवन रविको निर्वाचन क्षेत्र पनि हो । उनले चितवन २ बाट सर्वाधिक मत ल्याएर दुई पटक चुनाव जितेका थिए । अहिले उनको समर्थनमा मतदाताहरु बाक्लो संख्यामा सडकमा निस्किएका छन् । प्रदर्शनमा सहभागी केही मतदाताहरुले आफ्नो घर जग्गाको लालपुर्जा समेत बोकेर आएको त्यहाँ उपस्थित रास्वपा नेता प्रमोद न्यौपानेले बताएका छन् ।
