काठमाडौँ, २५ माघ–प्रतिनिधिसभा सदस्य सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध आएको र दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखिएको आरोप लगाएका छन्।
बिहीवार (हिजो) को प्रतिनिधिसभा बैठकमा सांसद पाण्डेले यस्तो आरोप लगाएका हुन्। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका सांसद पाण्डेले संसद अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको बताए। उनले अध्यादेश ल्याउने ट्रेण्ड सरकारको दुई तिहाईको दम्भ भएको बताए।
‘संसद अधिवेशनको तिथिमिति लगभग तोक्ने टुंगो भइसकेपछि अध्यादेशको बाढी लागेको छ। सरकारको अध्यादेश ल्याउने ट्रेण्डले, हामीसँग दुई तिहाई छ, दुई तिहाई भएपछि हामीले जे जे गरे पनि हुन्छ,’ उनले भने, ‘यो अध्यादेश ल्याएपछि अक्षरशः पास गर्न सकिन्छ र अध्यादेशका जतिसुकै नकारात्मक कुरा भए पनि पास गराउन सक्छौँ, सांसदको कुनै भूमिका हुँदैन‚ पास गराउन सक्छौँ भन्ने मक्सदका साथ सरकार देखापरेको छ। यसबाट निरंकुशताको गन्ध शुरु भएको छ। दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखिन्छ।’

