काठमाडौँ, १४ असार–प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा( का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको भन्दै त्यसको पुनर्गठनको लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन्।
सोमवार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेता शर्माले नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको टिप्पणी गरे।
उनले अहिले कम्युनिष्ट आन्दोलनभन्दा पनि त्यसमा आबद्ध नेता र समर्थक मात्रै बाँकी रहेको टिप्पणी गर्दै आन्दोलनको मूल शक्ति विघटन भइसकेको दाबी गरे। यस्तो अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उनको भनाइ छ।
शर्माले भने, ‘नेपालमा अहिले कम्युनिष्ट आन्दोलन जीवित छैन। कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरू मात्रै जीवित छौँ। कम्युनिष्ट आन्दोलन विघटन भइसकेको छ। देशभक्त प्रगतिशील र वामपन्थीको ७० प्रतिशत जनमत थियो। आज त्यो घटेर कहाँ पुगेको छ, त्यसले पनि स्पष्ट गर्दछ।’
शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको उल्लेख गर्दै अहिले त्यो आधार खस्किएको बताए।

