काठमाडौं, १५ असार–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीको शपथ बुधबार हुने भएको छ।

शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य तथा ७ पदाधिकारीको शपथ बुधबार हुने निश्चित भएको नवनिर्वाचित महामन्त्री विपिन आचार्यले बताए।

त्यसपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्ने उनले बताए।

उनका अनुसार त्यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन प्रक्रिया सुरू हुन्छ।

सभापतिले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेस गर्ने प्रक्रिया छ। सभापति रवि लामिछानेले कहिले मनोनीत गर्छन् भन्ने आफूलाई थाहा नभएको महामन्त्री आचार्यले बताए।

‘प्रक्रिया अनुसार पहिला निर्वाचित सदस्य तथा पदाधिकारीको शपथ हुन्छ। त्यसपछि निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्छ। त्यसपछि मात्र सभापतिले मनोनयन गर्ने प्रक्रिया हो। किनभने उहाँले मनोनीत गर्ने सदस्य तथा पदाधिकारीको नाम केन्द्रीय समितिमा पेस गर्नुपर्छ। उहाँले कहिले बाँकी पदमा मनोनित गर्नुहुन्छ भन्ने मैले भन्न सक्ने कुरा भएन,’  उनले भने, ‘तर धेरै नै विलम्ब नहोला।’

रास्वपा विधान अनुसार १५८ केन्द्रीय सदस्यमध्ये ९९ जना निर्वाचित र बाँकी सभापतिबाट मनोनीत हुने छन्। १९ पदाधिकारीमध्ये सभापति सहित ७ निर्वाचित हुने छन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्छन्।

चुनावअघि रास्वपामा समाहित भएका प्रधानमन्त्री बालेन्द्र शाहको समूह, विवेकशील साझाको समूहलाई समायोजन गर्न विधानमा मनोनीत हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको थियो।

चुनावका बेला पार्टीमा समायोजन भएर आएको समूहलाई महाधिवेशनमा प्रतिस्पर्धा गर्दा चुनाव जित्न अप्ठ्यारो हुन्छ भनेर पदाधिकारीमा मनोनीत गर्ने सहमति भएको थियो।

सोही सहमति अनुसार महाधिवेशनको पूर्वसन्ध्यामा बालेन समूहलाई मनोनित गर्ने भनेर वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत झण्डै १२ वटा पद सिर्जना गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *