काठमाडौं, १६ असार–दृष्टिविहीन व्यवसायीहरू विगत नौ दिनदेखि माइतीघरमा धर्नामा छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरू सरकारले व्यवसाय गर्न नदिएको कारण धर्नामा बस्नुपरेको बताउँछन्।

सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यवसायीहरूको उचित व्यवस्थापन गर्नुपर्ने या आफूले गरेको व्यवसायलाई निरन्तरता दिन पाउनुपर्ने उनीहरूको माग छ।

सरकारले बेवास्ता गर्दा पनि आफूहरू विभिन्न पेशा व्यवसाय गरेर जीविकोपार्जन गरिरहेको अवस्थामा फेरि सरकार तगारो बनेर उभिएको उनीहरूको गुनासो छ।

धर्नामा सहभागी दृष्टिविहीन विष्णु उपाध्याय दृष्टिविहीनहरू आधारभूत अधिकार सुनिश्चित गर्नको लागि पनि धर्नामा बस्नुपर्ने अवस्था आएको बताउँछन्।

उनका अनुसार दृष्टिविहीन नागरिकका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु सरकारको दायित्व हो। तर सरकारले आफै स्वरोजगार भइरहेकाहरूलाई पनि दुःख दिने गरेको उनको भनाइ छ।

सरकारले सम्मानजनक ढंगले दृष्टिविहीनहरूको व्यवस्थापन गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीत जस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनको माग छ।

उनले सरकारले हाल उपलब्ध गराउने गरेको मासिक २ हजार १ सय २८ रुपैयाँ भत्ताले दैनिक जीवनयापन गर्न नसकिने बताए।

बढ्दो महँगीका कारण कम्तीमा २० देखि ३० हजार रुपैयाँ बराबरको सामाजिक सुरक्षा आवश्यक रहेको उनको भनाइ छ। सरकारले दृष्टिविहीनहरूको संवेदनशीलता र पीडालाई गम्भीर रूपमा बुझ्नुपर्ने उनले बताए।

आन्दोलन समितिका सहसंयोजक पूर्णबहादुर रोकाले सरकार आफूहरूको आन्दोलनबारे पूर्ण रूपमा जानकार हुँदाहुँदै पनि बेवास्ता गरिरहेको आरोप लगाए।

आन्दोलन हालसम्म शान्तिपूर्ण रहेको उल्लेख गर्दै सरकारले समयमै संवाद र पहल नगरे अझ ठूलो संख्यामा दृष्टिविहीनहरू आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।

सरकारले वार्ताका लागि बोलाएर माग र मुद्दा सुनिश्चित हुने आधार बनाए वार्तामा सहभागी हुने उनको भनाइ छ।

उनले भने, ‘हाम्रो आन्दोलनको विषयमा सरकारलाई जानकारी छैन भन्न मिल्दैन। जानकारी छ तर उसले सुनेर पनि नसुनेको जस्तो, देखेर पनि नदेखेको जस्तो गरेको छ। हामी संसार नदेख्ने भएर पनि दृष्टिविहीन भएका छौँ, आज नेपाल सरकार संसार देख्ने भएर पनि दृष्टिविहीन भएको छ। अहिलेसम्म हामी शान्तिपूर्वक बसिराखेका छौँ। तर यही माइतीघर मण्डलबाट नेपाल सरकारलाई के भन्न चाहन्छु भने भोलि दृष्टिविहीनहरूको भिड थाम्नु नसकिने हो किरु यो कुराको महसुस नेपाल सरकारलाई छ कि छैन ।’ –न्युज एजेन्सी नेपाल

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *