शिबगञ्ज, १७ असार–झापाको शिवसताक्षी–६ शिवगञ्जस्थित जनआदर्श माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको आधुनिक विद्यालय भवनको आज शिलान्यास गरिएको छ।
निर्माण हुने भवन तीन तले हुनेछ। प्रत्येक तलामा ६ वटा गरी कुल १८ वटा कक्षाकोठा रहनेछन्। भवन निर्माण मापदण्डअनुसार प्रत्येक कक्षामा ४५ जना विद्यार्थी अध्ययन गर्न सक्ने व्यवस्था रहने भएकाले नयाँ भवनमा मात्र करिब ८१० जना विद्यार्थीले सहज रूपमा अध्ययन गर्न सक्नेछन्।
भवन निर्माणको अनुमानित लागत भ्याटसहित ४ करोड ७० लाख ८३ हजार ९४५ रुपैयाँ ६८ पैसा रहेको छ। निर्माणको ठेक्का मक्सुद एमपी जेबीले ३ करोड ७९ लाख ६० हजार ४५६ रुपैयाँ १२ पैसामा प्राप्त गरेको छ। सम्झौताअनुसार निर्माण कम्पनीले १५ महिनाभित्र भवन निर्माण सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नेछ।
करिब ३ हजार ६७३ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवन १३३ फिट लम्बाइ र ३९ फिट चौडाइको हुनेछ। भवनमा छात्र र छात्राका लागि छुट्टाछुट्टै सुविधा सम्पन्न शौचालयसमेत निर्माण गरिनेछ।
भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालले भवन निर्माणका लागि पहिलो किस्ताको चेक शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गर्दै नेपाल–भारतबीच विकास साझेदारीअन्तर्गत शिक्षा, पूर्वाधारलगायत विभिन्न क्षेत्रमा सहकार्य भइरहेको बताउनुभयो। उहाँले निर्माण हुन लागेको विद्यालय भवनले स्थानीय बालबालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुने भवनको शिलान्यास कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियाल, शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की तथा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे लगायतले संयुक्त रूपमा गर्नुभएको हो।
