काठमाडौं, १७ असार–विश्व फुटबलको सर्वोच्च निकाय, फिफाद्वारा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि गरिएको निलम्बनका कारण नेपालले तत्कालका लागि तीन महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ।
एन्फाका प्रवक्ता सुरेश शाहले बुधबार फिफाद्वारा एन्फाका महासचिव किरण राईलाई सम्बोधन गरी पठाइएको पत्र सार्वजनिक गर्दै यसको औपचारिक पुष्टि गरेका हुन्।
फिफाले गत असार ११ गते एन्फामाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो। सोही मितिको पत्र सार्वजनिक गर्न प्रवक्ता शाहले बुधबार मात्रै मिडियासमक्ष आधिकारिक जानकारी गराएका हुन्।
निलम्बनको प्रत्यक्ष प्रभावस्वरूप नेपालले ‘एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ मा’ सहभागिता जनाउने अवसर गुमाएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार सार्वजनिक गरेको सहभागी क्लबहरूको सूचीमा नेपालका कुनै पनि टोलीको नाम समावेश नभएकाले यो प्रतियोगितामा नेपालको सहभागिता निश्चित रूपमा अन्त्य भएको छ।
यसअघि लिग च्याम्पियनका हैसियतमा विभागीय टोली एपीएफले यस प्रतियोगितामा सहभागिता जनाउँदै आएको थियो र यसपटक पनि सोही टोलीलाई पठाउने एन्फाको तयारी थियो।
यस्तै, फिफाको निलम्बनकै कारण ‘एएफसी यू–१७ महिला एसियन कप २०२७’ र ‘एएफसी यू–२० एसियन कप’ को छनोट चरणका खेलहरू पनि नेपालले गुमाउने जोखिम बढेको छ। यद्यपि, फिफाले चाँडै निलम्बन फुकुवा गरेमा ती प्रतियोगिताहरूमा सहभागिताको सम्भावना भने जीवितै रहनेछ।
नेपाली फुटबल इतिहासमा पहिलोपटक भएको यस निलम्बनको मुख्य कारण एन्फा नेतृत्व र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको विवाद हो। एन्फाको तहगत निर्वाचन प्रक्रिया देशको ऐन र कानुनबमोजिम हुनुपर्ने राखेपको अडान र सोको विपक्षमा एन्फा नेतृत्व रहँदा ुतेस्रो पक्षको हस्तक्षेपु भएको निष्कर्ष निकाल्दै फिफाले कारबाही अघि बढाएको हो।
यस घटनाले नेपाली फुटबल क्षेत्रलाई गम्भीर आर्थिक तथा संरचनागत क्षति पुर्याएको छ। फिफाबाट नेपालले पाउँदै आएको डेढ अर्ब रुपैयाँभन्दा बढीको अनुदान रकम हाललाई रोकिएको छ। साथै, राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण मानिने महिला तथा पुरुष सिनियर प्रतियोगिताहरू, उमेर समूहका खेलहरू र विभिन्न प्राविधिक प्रशिक्षण कोर्सहरू समेत प्रभावित भएका छन्।
