एजेन्सी – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत युरोपका दुई टोली स्पेन र अस्ट्रिया बिहीबार आमनेसामने हुँदैछन्। अमेरिकाको लस एन्जलस स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ। यस खेलको विजेताले अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको स्पेन उपाधिको प्रमुख दाबेदारमध्ये एक मानिएको छ। अझ महत्वपूर्ण कुरा, स्पेनले प्रतियोगितामा अहिलेसम्म एक गोल पनि बेहोरेको छैन। समूह चरणका सबै खेलमा क्लिनसिट राख्ने टोलीमध्ये स्पेन र मेक्सिको मात्र रहेका छन्।
चोटले स्पेनलाई केही चिन्ता
यद्यपि समूह चरणको अन्तिम खेलमा उरुग्वेविरुद्ध दुई महत्वपूर्ण खेलाडी घाइते भएपछि प्रशिक्षक लुइस दे ला फुएन्तेलाई टोली छनोटमा केही चुनौती थपिएको छ।
स्टार विङ्गर निको विलियम्स ग्रोइनको गम्भीर चोटका कारण यो खेल गुमाउने निश्चित भएको छ। यस्तै फरवार्ड येरेमी पिनो पनि काँधको चोटका कारण बाहिरिएका छन्। उनको कलरबोन भाँचिएको आशंका गरिएको छ।
यी अनुपस्थितिका कारण एलेक्स बेएनाले लामिन यामाल र मिकेल ओयारजाबालसँगै अग्रपङ्क्तिमा सुरुआत गर्ने सम्भावना छ।
मिडफिल्डमा रोद्री, पेड्री, फाबियन रुइज, मिकेल मेरिनो र दानी ओल्मोमध्ये कसलाई सुरुआती टोलीमा उतार्ने भन्ने निर्णय प्रशिक्षकका लागि मुख्य चुनौती हुनेछ। राइट–ब्याकमा मार्कोस लोरेन्ते र पेद्रो पोरोबीच प्रतिस्पर्धा रहने अपेक्षा गरिएको छ।
पूर्ण फिट अस्ट्रियाको चुनौती
अस्ट्रिया भने पूर्ण रूपमा फिट टोलीसहित नकआउट चरणमा पुगेको छ। अल्जेरियासँग ३–३ को रोमाञ्चक बराबरीपछि प्रशिक्षक राल्फ राङनिकसँग कुनै नयाँ चोट वा प्रतिबन्धको समस्या छैन।
कप्तान डेभिड अलाबाले सामान्य असहजता महसुस गरे पनि चिकित्सकले उनलाई खेल्न अनुमति दिएका छन्। अनुभवी स्ट्राइकर मार्को अर्नाउटोभिच पनि घुँडाको चोटबाट पूर्ण रूपमा निको भएर टोलीमा फर्किएका छन्।
मिडफिल्डमा जाभेर स्लागर र निकोलास साइवाल्डले खेलको नियन्त्रण गर्ने अपेक्षा गरिएको छ भने अग्ला फरवार्ड साशा कालाज्जिच दोस्रो हाफमा खेल परिवर्तन गर्न सक्ने प्रभावशाली विकल्पका रूपमा रहनेछन्।
दुवै टोलीको फर्म
स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेले पनि त्यसपछि उत्कृष्ट लय समात्यो। दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गरेको स्पेनले अन्तिम समूह खेलमा उरुग्वेलाई १–० ले हराउँदै समूह ‘एच’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्यो। तीन खेलमा पाँच गोल गरेको स्पेनले एक गोल पनि नखाई आफ्नो रक्षात्मक मजबुती प्रमाणित गरेको छ।
अस्ट्रियाको यात्रा भने उतारचढावपूर्ण रह्यो। पहिलो खेलमा जोर्डनलाई ३–१ ले पराजित गरेको टोली दोस्रो खेलमा अर्जेन्टिनासँग २–० ले पराजित भयो। अन्तिम खेलमा इन्जुरी समयमा साशा कालाज्जिचले गोल गर्दै अल्जेरियासँग ३–३ को बराबरी निकाल्दा अस्ट्रियाले समूह उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गर्यो।
यद्यपि तीन खेलमा ६ गोल बेहोरेको तथ्यले अस्ट्रियाको रक्षापङ्क्ति अझै कमजोर रहेको संकेत गर्छ। स्पेनजस्तो बलियो आक्रमण पंक्तिविरुद्ध त्यो कमजोरी महँगो पर्न सक्ने विश्लेषण गरिएको छ।
स्पेन फेभरिट, अस्ट्रिया चकित पार्ने योजनामा
समूह चरणको प्रदर्शन, बलियो रक्षापङ्क्ति र मिडफिल्डमा रहेको गहिराइका आधारमा स्पेन यस खेलको स्पष्ट फेभरिट देखिन्छ। तर अस्ट्रियाले पनि उच्च प्रेसिङ, तीव्र काउन्टर आक्रमण र सेट–पिसमार्फत स्पेनलाई दबाबमा पार्ने प्रयास गर्ने अपेक्षा गरिएको छ।
दुवै टोलीका लागि यो ‘गर या मर’ को खेल भएकाले लस एन्जलसमा निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक भिडन्त हुने अनुमान गरिएको छ।
