काठमाडौं, २० असार–कप्तान लियोनेल मेसीको गोल र थप गरिएको समयमा उपहार पाएको आत्मघाती गोलको मद्दतले अर्जेन्टिना फिफा विश्वकपको रोमाञ्चक खेलमा केप भर्डे लाई ३-२ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

मियामी स्टेडियममा भएको राउन्ड अफ ३२ को यस प्रतिस्पर्धात्मक खेलको निर्णय थप गरिएको समयमा मात्र सम्भव भएको थियो।

यो जितसँगै अर्जेन्टिनाले जुलाई ७ मा एट्लान्टामा हुने राउन्ड अफ १६ को खेलमा इजिप्टसँगको भेट पक्का गरेको छ।

खेलको २९औं मिनेटमा स्टार खेलाडी लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको केप भर्डेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

खेलको ५९औं मिनेटमा डेरोय दुआर्टेले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको थप समयमा धकेलिएको थियो।

थप गरिएको समयको सुरुवातमै अर्थात् ९२औं मिनेटमा डिफेन्डर लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २-१ को अग्रता दिलाए। तर, भर्डेले हार मानेन। १०३औं मिनेटमा सिड्नी लोपेज काब्रालले गोल गर्दै खेललाई फेरि २-२ को रोमाञ्चक मोडमा पुर्‍याए।

खेल पेनाल्टी सुटआउटतर्फ अघि बढिरहेका बेला १११औं मिनेटमा केप भर्डेका डिने बोर्गेसबाट आत्मघाती गोल हुन पुग्यो। यही आत्मघाती गोल नै अन्ततः अर्जेन्टिनाका लागि जितको आधार बन्यो।

केप भर्डेले बलियो अर्जेन्टिना विरुद्ध कडा चुनौती दिए पनि अभागी साबित हुँदै विश्वकप यात्राबाट बाहिरिनु पर्यो। अब अर्जेन्टिनाले क्वाटरफाइनल प्रवेशका लागि अस्ट्रेलियालाई पराजित गरेर आएको इजिप्टको सामना गर्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *