दमक, २९ असार–दमक प्रज्ञा प्रतिष्ठान दमकले आज साहित्य कला, संस्कृति, भाषा र शिक्षा क्षेत्रमा योगदान पुराउनु भएका ब्यक्तित्वहरु ५जनालाई सम्मान गरेको छ ।
दमक क्षेत्रलाई कर्मथलो बनाएर साहित्य, कला, भाषा संस्कृति र शिक्षा क्षेत्रमा योगदान दिनु भएका ब्यक्तित्वहरुलाई कार्यक्रममा सम्मान गरेको हो ।
२१३औं भानु जयन्तीको अवसरमा दमक प्रज्ञाप्रतिष्ठानद्धारा सम्मातिन तथा पुरस्कृत हुने ब्यक्तित्वहरुमा हिमालय माध्यमिक विधालय दमकका पूर्व प्रधानध्यापक छविलाल शर्मा सिटौला, साहित्यकारहरु दक्षराज शर्मा, प्रतिभा निकेतनका पूर्व अध्यक्ष मेघराज तिम्सिना खेमलाल पोखरेल र गणेशमान धिमाल हुनुहुन्छ ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाको प्रमुख तथा प्रतिष्ठानको संरक्षक राम थापाले दोसल्ला ओढाएर समान पत्रद्धारा सम्मान गर्नु भएको छ ।
स्रष्टाहरुलाई सम्मानपछि बोल्दै नगर प्रमुख थापाले भाषा साहित्य संस्कृति लगायतका क्षेत्रको संरक्षण जर्गेना गर्न नगरपालिका लागि पर्ने बताउनु भयो । कला,साहित्य,भाषाको संरक्षण गर्न सके मात्र समाज संरक्षण हुने नगर प्रमुख थापाले बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर गोपाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भानुभक्त सम्वन्धि वृत्तचित्र सोम रायले प्रस्तुत गर्नु भएको थियो । सास्कृतिक प्रस्तुती बिहानी कला केन्द्र दमकको कलाकारले दिएका थिए ।
भानु जयन्ती आजको सन्दर्भका बिषयमा कार्यपत्र प्रतिष्ठानका संस्थापक अध्यक्ष हेम अधिकारीले प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र माथि टिप्पणी स्रष्टा शिव रेग्मी प्रणतले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सुमित्रा बाङदेल चेली, दमक प्रज्ञा प्रतिष्ठानको उपाध्यक्ष बेन्जना शर्मा लगायतले भानु भक्तको योगदानको चर्चा गर्नु भएको थियो ।
