काठमाडौं, ३० असार–नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भएको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सचेतक राईले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्रको उपहास गरेको र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको दाबी गरे।

‘श्री ८’ को शैलीमा सरकार

सचेतक राईले प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ को उपमा दिँदै उनले प्रश्न गर्न नपाइने वातावरण सिर्जना गर्न खोजेको आरोप लगाए। उनले भने, “सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ।

संविधान र कानुनको परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि आफूलाई राख्ने शैलीले सरकार निरंकुशतातर्फ उन्मुख भएको पुष्टि हुन्छ।” पौराणिक कथाको हिरण्यकश्यपुसँग वर्तमान सरकारको व्यवहार तुलना गर्दै उनले प्रश्न गर्ने अधिकारलाई नै अपराधका रूपमा परिभाषित गर्ने प्रवृत्ति घातक रहेको उल्लेख गरे।

दमन र आतंकको शृंखला

सचेतक राईले मुगुका युवा गणेश नेपालीले काठमाडौंको सडकमा गरेको आत्मदाहको घटनादेखि सुकुम्वासी बस्तीमाथिको बलपूर्वक विस्थापनसम्मलाई सरकारको ‘असक्षमता र दमन’ को रूपमा व्याख्या गरे। उनले भने, “सुरक्षा घेराभित्र लुकेका अनधिकृत पात्रहरूले प्रहरी प्रशासनलाई आफ्नो औंलामा नचाउँदै नागरिकमाथि आतंक सिर्जना गरिरहेका छन्। जुन युवाले प्रश्न सोध्ने अधिकार माग गर्दै सडक ओगटेका थिए, आज तिनै युवा आफ्नै रोजेको सरकारको लाठी खान बाध्य छन्।”

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

संसद्‍मा सोमबारको गाडी प्रकरण र मिडिया हाउस अगाडिका गतिविधिबारे चर्चा गर्दै उनले प्रश्न सोध्ने सञ्चारमाध्यम र प्रतिपक्षी दलमाथि प्रतिशोध साँधिएको आरोप लगाए। “प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति हाबी भएको छ।

सत्ताको उन्मादमा सरकारले बहुमतको दम्भ देखाउँदै संविधानलाई नै लत्याउन खोजेको छ,” राईले भने। उनले बहुमत प्राप्त दललाई संविधानभन्दा माथि रहने छुट नभएको जिकिर गर्दै जवाफदेहिताको माग गरे।

राज्य संयन्त्रको दुरुपयोग

सचेतक राईले गृह मन्त्रालयको जिम्मेवारी र सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठाउँदै गृहमन्त्री सुदन गुरुङको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। “गृहमन्त्रीले आफ्नो कमजोरी ढाकछोप गर्न स्थानीय तहलाई दोष दिएर पन्छिने बाटो रोज्नुभयो। राज्यका संरचनाहरू अनौपचारिक नेटवर्कको कब्जामा पर्नु लोकतन्त्रका लागि दुर्भाग्य हो,” उनले भने।

उनले सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै प्रश्नलाई सम्मान गर्न आग्रह गरे। “हामी दास होइनौं, प्रश्न गर्ने हाम्रो हक अधिकार कसैले खोस्न सक्दैन। बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन, यो सरकारले बेलैमा बुझोस्,” राईको चेतावनी थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *