डुडामारी (शिवसताक्षी), २ साउन–झापाको शिवसताक्षी–८, बुद्ध चोकमा करिब १५ वर्षअघि निर्माण सम्पन्न भएको सृजना खानेपानी तथा सरसफाइ आयोजना अझै सञ्चालनमा नआएपछि स्थानीय सचेत उपभोक्ताहरूले समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
स्थानीय उपभोक्ताहरूले समितिका अध्यक्ष शिवकुमार मेन्याङ्बोलाई ध्यानाकर्षण पत्र बुझाउँदै आयोजना तत्काल सञ्चालनका लागि आवश्यक पहल गर्न माग गरेका हुन्।
ध्यानाकर्षण बुझाउने कार्यक्रममा उपभोक्ताको तर्फबाट जसकुमार तामाङ, गंगा ओझा, संजिब भण्डारी, कुमार निरौला, बहादुर सर्मा, राज कुमार लिम्बुलगायतको उपस्थिति रहेको थियो ।
तत्कालीन सतासीधाम–१, २ र ३ का नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको आयोजना लामो समयसम्म पनि सञ्चालनमा नआउँदा स्थानीयवासी निराश बनेका छन्। आयोजना सञ्चालन नहुँदा यस क्षेत्रका अधिकांश नागरिक अझै पनि भूमिगत ट्युबवेलको पानी प्रयोग गर्न बाध्य छन्।
ध्यानाकर्षण पत्रमा १५ वर्षअघि निर्माण सम्पन्न भएको खानेपानी ट्याङ्की तथा अन्य भौतिक संरचना प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएको उल्लेख गरिएको छ। पटक–पटक समिति विघटन र पुनर्गठन भए पनि खानेपानी वितरण सुरु हुन नसक्दा उपभोक्ताको विश्वास घट्दै गएको स्थानीयको भनाइ छ।
पछिल्लो पटक पुनर्गठित समितिले छ महिनाभित्र खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाएको भए पनि करिब एक वर्ष बित्न लाग्दासमेत वितरण कार्य सुरु हुन सकेको छैन। सबै क्षेत्रमा पाइपलाइन विस्तारसमेत पूरा नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
स्थानीयले समितिले हालसम्म गरेका काम, खानेपानी वितरण सुरु हुन नसक्नुका कारण र आगामी कार्ययोजनाबारे एक साताभित्र स्थानीयवासी तथा उपभोक्ताको आमभेला बोलाई लिखित रूपमा सार्वजनिक जानकारी दिन माग गरेका छन्।
साथै, वर्तमान समिति वा जिम्मेवार पदाधिकारीबाट आयोजना सञ्चालन सम्भव नभए नयाँ समिति गठन तथा नयाँ नेतृत्व चयनका लागि आवश्यक वातावरण तयार गर्नुपर्ने माग पनि गरिएको छ।
खानेपानीजस्तो अत्यावश्यक र संवेदनशील परियोजनामा देखिएको लामो ढिलासुस्तीप्रति स्थानीयवासी र उपभोक्ताले गम्भीर चासो र गुनासो व्यक्त गरेका छन्। उनीहरूले शिवसताक्षी नगरपालिका र जिल्ला खानेपानी डिभिजन कार्यालयले समेत विशेष चासो दिएर आवश्यक पहल गर्न आग्रह गरेका छन्।
आयोजना शीघ्र सञ्चालनमा ल्याई स्थानीय नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने वातावरण बनाउन सम्बन्धित निकायसँग जोड्दार माग गरेका छ्न ।
