दमक, ५ साउन–पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत झापाको दमकस्थित रतुवा खोलामा निर्माणाधीन आधुनिक ‘ल्याण्डमार्क सिग्नेचर ब्रिज’को काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको जनाइएको छ।
५८५ मिटर लामो यो पुल आधुनिक आर्च स्टिल ट्रस प्रविधिमा निर्माण भइरहेको हो। पुलको चौडाइ १६।५ मिटर रहकोछ भने डबल लेन, सर्भिस लेन र फुटपाथको सुविधा हुनेछ।
काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिका अनुसार पुल निर्माणमा उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ। हाल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ भने सन् २०२७ फेब्रुअरी २ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
करिब ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुल सञ्चालनमा आएपछि हालको पुरानो पुलको विकल्प बन्नुका साथै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन थप सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
