काठमाडौं, ६ साउन–प्रदेश सरकारको नयाँ सत्ता समीकरण बनाउन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहकार्यको तयारी अघि बढेको छ।
कांग्रेससँग प्रदेश सरकारको नेतृत्व हस्तान्तरणको विषयमा विवाद बढेपछि एमाले र नेकपाबीच संवाद तीव्र भएको हो। दुवै दलले पहिलो विकल्पका रूपमा कांग्रेससहित तीन दलको चुनावी सरकार बनाउने प्रस्ताव राख्ने, तर कांग्रेस सहमत नभए दुई दल मिलेर प्रदेश सरकार गठन गर्ने समझदारी बनाएका छन्।
मंगलबार ओली निवासमा भएको भेटपछि जनकपुर पुगेका प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिबीच सहकार्यको वातावरण बनेको र एमालेसँग निरन्तर संवाद भइरहेको बताएका छन्।
नेकपा प्रवक्ता प्रकाश ज्वालाले तीन प्रमुख दल मिलेर प्रदेशमा चुनावी सरकार बनाउने प्रस्ताव कांग्रेससमक्ष राखिने र त्यसको प्रतिक्रियापछि एमालेसँगको सहकार्यबारे अन्तिम निर्णय हुने बताए। एमाले नेताहरूले पनि कांग्रेससँगभन्दा नेकपासँग सहकार्यको सम्भावना बलियो बन्दै गएको बताएका छन्। प्रदेशस्तरमा समेत दुवै दलबीच सरकार गठनका विषयमा छलफल सुरु भइसकेको छ।
सत्ता समीकरण सफल भए सुदूरपश्चिम, कर्णाली, कोशी, लुम्बिनी, बागमती र गण्डकीमा नयाँ गठबन्धन बन्न सक्ने सम्भावना रहेको नेताहरूको भनाइ छ। दीर्घकालमा स्थानीय तह निर्वाचनमा कार्यगत एकता हुँदै पार्टी एकताको ढोका खोल्ने विषयमा समेत दुवै पक्षबीच प्रारम्भिक छलफल भएको स्रोतले जनाएको छ।
