कमल, १२ साउन–कमल गाउँपालिका–७ रंगपुरस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला (ल्याब) सेवा सञ्चालनमा आएको छ ।

सो आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख अमृत सुब्बाका अनुसार आज (मंगलवार) ल्याब सेवा शुभारम्भसँगै त्यहाँ एक दिने निःशुल्क स्वास्थ्य शिविरको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उदघाटन गर्नुभएको थियो ।

गाउँपालिका प्रमुख तथा ल्याब सेवा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि राईले प्रयोगशाला सेवाको गुणस्तर र प्रभावकारितामा कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।

सोही अवसरमा कमल ७ का वडाध्यक्ष पृथ्वीपति राईले वडाबासीको स्वास्थ्य सेवामा प्रतिबद्धता जनाए । ल्याब सेवा सञ्चालनमा आएपछि अब कमल–७ तथा आसपासका बासिन्दाले सामान्य प्रयोगशाला परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको वडाध्यक्ष राईले बताए ।

कार्यक्रममा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले ल्याब सेवा विस्तार कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत गरेका थिए ।

कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.फुलक चन्द्र लावतीले गाउँपालिकाभित्र रहेका अन्य आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा समेतसेवा विस्तारमा जोड दिए ।

ल्याब असिस्टेन्ट गीता न्यौपानेले सो केन्द्रबाट रगत, पिसाब (युरिन), दिसा (स्टुल), सुगर जाँच, परीक्षणका साथै गर्भवती महिलाका आवश्यक प्रयोगशाला परीक्षणहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिइन् ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *