पाँचथर, ३० भदौं–बाजा गाजासहित पाँचथरको फिदिमस्थित रानीटारमा बराजु खेलमैदान प्रवेश गरेका विद्यार्थीले सांकेतिक रुपमा रोपाइँ प्रस्तुत गरे । रोपाहार, बाउसे, हलीसहितका सांकेतिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जनमात्र दिएनन्, परम्परालाई निरन्तरता पनि दिएका छन् ।

पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा जात्रा गरिएको हो । बाल दिवसको अवसर पारेर यहाँ रोपाइँजात्रा सम्पन्न भयो । रानीटार माध्यमिक विद्यालयका विद्यार्थीले रोपाइँजात्रा प्रस्तुत गरेका थिए ।

विभिन्न जातजातिमा आधारित परम्परागत पोशाकमा सजिएका विद्यार्थीले आर्कषक प्रर्दशन गरेका थिए । रोपाइँ सक्ने बेला उनीहरुले राष्ट्रिय झण्डा बनाएका थिए । २०३७ सालदेखिको परम्परालाई निरन्तरता दिइएको वडाध्यक्ष रुपेन्द्र तामाङले जानकारी दिए । भौगोलिक रुपमा सुन्दर रानीटारमा परम्परागत पोशाकसहित देखाइने संस्कृति पहिचान भएको उनको भनाइ थियो ।

बाल दिवसको अवसरमा विगतमा भदौ ४ गते यो मेला लाग्ने गर्थ्यो । पाँचथरमा हिले जात्राको रुपमा चर्चित थियो । द्वन्द्वकालमा रोकिएको यो मेलालाई पुनः जागरण गरिएको हो । गणतन्त्रपछि भदौ २९ गते मनाउन थालिएको आयोजक रानीटार युनाइटेढ क्लबका अध्यक्ष टंक गुरुङले जानकारी दिए । गत वर्ष जेन–जी आन्दोलनका कारण हुन सकेको थिएन ।

चारदिन प्रशिक्षण गरेर विद्यार्थीलाई रोपाइँका लागि तयारी गरिएको रानीटार माध्यमिक विद्यालयकी प्रधानाध्यापक गंगा राईले बताइन् । रोपाइँ जात्राको अवसरमा खुल्ला तथा भेट्रान फुटबल प्रतियोगिता, जेठ नागरिकको दौड, नृत्य लगायका कार्यक्रम राखिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *