काठमाडौं, ६ असोज–बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा आगामी दिनमा भीषण वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ। बंगालको खाडीको मध्य–पश्चिमी भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा बलियो बन्दै जाने र त्यसको प्रभाव नेपालमा पर्ने महाशाखाले जनाएको छ। महाशाखाले सोमबार जारी गरेको विशेष बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भीषण वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
यसअघि मंगलबार बिहान ८ बजे जारी गरिएको नियमित बुलेटिनअनुसार हाल हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि कोसी, मधेस र बागमती प्रदेशलगायत देशका हिमाली क्षेत्र तथा गण्डकी र लुम्बिनीका पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा बाँकी तराईमा भने आंशिक बदली रहनेछ।
रातिको समयमा पनि कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोसी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने सम्भावना छ। आगामी दिनमा मौसम प्रणाली थप सक्रिय हुनसक्ने भएकाले वर्षा तथा हिमपातको अवस्थाबारे नियमित अद्यावधिक हेर्न महाशाखाले आग्रह गरेको छ।
