भारी वर्षा

काठमाडा,ै ७ असोज–बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा वर्षाको गतिविधि बढ्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा बलियो न्यूनचापीय प्रणालीका रूपमा विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने अनुमान छ।

हाल बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिमको तराई क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिमको तराई क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनीका केही भूभागमा भारी वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले सम्भावित जोखिमबाट बच्न सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेषगरी भारी वर्षाको सम्भावना भएका पहाडी तथा नदी आसपासका क्षेत्रमा यात्रा गर्दा मौसमको पछिल्लो सूचना हेर्नसमेत अनुरोध गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *