फाइल तस्विरः मृत हात्ती

चितवन, २४ माघ–चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। चितवन निकुञ्ज कार्यालयका अनुसार गोली लागेर दाह्रा नहुने भाले जंगली हात्ती मकुना मरेको हो ।

कार्यालयले आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको र उक्त गोली लागेर मकुनाको मृत्यु भएको जनाएको छ । बुधबार दिउँसो साढे तीन बजे तिर निकुञ्जको पूर्वी क्षेत्र कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा निकुञ्ज कर्मचारी र मकुनाबीच जम्काभेट भएको थियो ।

निकुञ्जका सूचना अधिकारी समेत रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार उक्त हात्तीलाई निकुञ्जको भित्री इलाकामा पठाउन ५(६ वटा हात्तीमा निकुञ्जको पूर्वी सेक्टरका कर्मचारी र निकुञ्ज सुरक्षामा खटेको नेपाली सेनाको नयाँ गोरख गण ’क’ गुल्म सौराहाका सेनाहरु दैनिक गस्ती गर्दै आएका थिए ।

‘मकुनाले गस्तीमा रहेको हात्ती चुरे गजलाई सिधै आक्रमण गर्न आयो । अन्य विकल्प नभएका कारण दुई राउण्ड हवाइ फायर भयो । त्यसपछि पनि हात्ती नभागेर आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तमाङ हात्तीबाट खसेका कारण ज्यानको सुरक्षा गर्न निकै कठिन भयो,’ निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यो बेला थप तीन राउण्ड हवाइ फायर गरेको निकुञ्जले जनाएको छ । उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको निकुञ्जले विज्ञप्तिमार्फत दाबी गरेको छ । स्थानीय सरोकारवालासँग विभिन्न चरणमा उक्त जंगली हात्तीबाट जनधनको क्षति हुनबाट रोक्न विभिन्न उपाय अपनाएको पनि निकुञ्जले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *